काठमाडौं, ५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा रहेको टिप्पणी गरेका छन् । काम गर्ने अधिकारीका रुपमा सरकारी कर्मचारी पठाइए पनि त्यहाँ छानी–छानी र सेटिङ मिलाएर पठाइएका व्यक्तिहरु मात्र नेतृत्वमा रहेको उनको दाबी छ ।
‘दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सेट गरेका हुन् । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसँग ’तालिम प्राप्त’ गरेपछि पठाइएका व्यक्ति हुन् भने बरिष्ठ अध्यागमन अधिकृत झंकनाथ ढकाल यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका निजी सचिव थिए ।’सामाजिक सञ्जालमार्फत नेता रिजालले लेखेका छन्,‘त्यसैगरी, सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआइजी अर्जुन चन्द ठकुरीलाई ’आदर्शवान’ गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानेर पठाएका हुन् भने अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त ढकाललाई भन्सार विभागका महानिर्देशक यत्तिकै बनाएका होइनन् । चर्का र उट्पट्याङ कुरा गर्ने पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् ।’
आफूले कसैमाथिको आरोप नलगाएको,तथ्य प्रस्तुत गरेको भन्दै रिजालले लेखेका छन्,‘अब भन्नूस्,‘सय किलो सुन एउटा ड्युटी अफिर र जाँचकीले जाँचपास गराएर विमानस्थलबाट सजिलै बाहिर पठाउन सक्छन् होला ? यदि दुईटा सामान्य कर्मचारीले यति काम फत्ते गर्छन् भने यी बाँकीले केसम्म गर्न सक्छन् होला ?’