काठमाडौं । बिहिबार नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकको अन्तिम समयमा रमाईलो माहोल देखियो ।
पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठक सकिएपछि सबै कन्द्रिय सदस्यहरु उठ्दै थिए । तर, महामन्त्री विश्वप्रकाश शर्माले सबैलाई रोके र गगनको जन्मदिनबारे जानकारी दिए । त्यसपछि उपस्थीतहरुले गगनलाई शुभकामना दिन लागे ।
यसबीच एकजनाले केके ल्याएर बैठक कोठामा प्रवेश गरे । सभापति शेरबहादुर देउवा उठे र गगनले केके काटे, सबैले ताली बजाए । सबैभन्दा पहिला देउवाले गगनलाई केके ख्वाए । सभापति देउवालाई गगनले नमस्कार गरे तर, देउवालाई केके खुवाउन ध्यान दिएनन् ।
देउवाले प्लेटको केके उठाएर आफै खाए । त्यसपछि बैठक स्थलमा हासोको फोहोरा उठ्यो । विश्वप्रकाशले गगनलाई संकेत गरेपछि गगनले देउवालाई पनि केके खुवाइदिए र माहोल रमाईलो भयो । तीन दिन देखि चलिरहेको बैठकमा एकअर्कामाथि आरोपप्रत्यारोप चलिरहेको बेला गगनको जन्मदिनले माहोल रमाईलो देखिएको थियो ।
बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताइएको छ ।