काठमाडौँ, ३ साउन । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन प्रकरणमा ५ जना थुनामा छन् । गैरकानुनी बेचबिखनमा संलग्न पाँच जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
यस प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसमेत जोडिएपछि उनीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
न्यायाधीश दीपक ढकालको एकल इजलासले सुन बेचबिखन गर्ने गिरोहका सदस्यहरूलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
सो प्रकरणमा भारतीय नागरिक साहेब राव पान्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्का, काठमाडौं बस्ने वेदप्रकाश अग्रवाल, कागेश्वरी मनोहराका दिनेश बस्नेत र पोखरा गैह्रापाटनका निर्मलकुमार विक थुनामा छन् ।
दुबईबाट २०७९ पुस १० मा आउँदा चिनियाँ नागरिक ली हानसङले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन भन्सारले जफत गरेको थियो ।