काठमाडौं, २५ असार । संसद सुचारु गर्न आज पनि सत्तापक्ष र प्रतिपक्षका ३ नेताले छलफल गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसद अवरोध खुलाउनेबारे प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दैछन् । शीर्ष नेताहरुको छलफल केही बेरमा सुरु हुँदैछ ।
आइतबार तीन नेताबीच संसद खुलाउने बारेमा सहमति भएपनि एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि बैठक आज बस्ने गरी स्थगित गरिएको थियो ।
गत असार १९ गते एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक उनी दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसदका दुवै सदन अबरुद्ध गर्दै आएको छ ।