काठमाडौं, १७ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताएका छन् । थापाले देश बदल्न काँग्रेस नै बदलिनु पर्ने भन्दै अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले काँग्रेस बदल्ने अभियानमा लागि परेको बताए । एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने परम्पराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने विषय उठान गरेको स्पष्ट गरे । थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे ।
दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काँग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई छ । महामन्त्री थापाले देश बदल्न काँग्रेस नै बदलिनु पर्ने भन्दै अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा काँग्रेस जुटनुपर्ने बताए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि काँग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने धारणा राखे ।