काठमाडौं, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र मगाउन आदेश दिएको छ । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिँदै प्रधान्यायाधीश गाेपाल पराजुली न्यायाधीश बन्न समेत अयोग्य भएको टिप्पणी गरेका थिए ।
बयानका क्रममा डा. केसीले पराजुलीको दुई वटा नागरिकता रहेको तथा उमेर सच्याएको आरोप लगाएका थिए। उनले पराजुलीको शैक्षिक प्रमाणपत्रका बारेमा पनि प्रश्न गठाएका थिए ।
यसैगरी अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको छ । सर्वोच्चमा आज भएको थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले डा. केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मा लगाईएको छ ।