काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलका भाग लिँदै उहाँले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताउनु भयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो । उहाँले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताउनु भयो । सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ । किनकी निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फाष्ट ट्रयाक जोडनका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन । त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैंसी धेरै पाउँछ ।’
सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराउनु भयो ।




