‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमनमा मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमनमा मन्त्री गुरुङ

काठमाडौं । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ ।

शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नु भएको हो । सो प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका गल्ती कमजोरीहरु फेरी दोहोरिन नदिनका लागि आफूले सो प्लान्टको अनुगमन गर्नु परेको मन्त्री गुरुङले बताउनु भयो ।

उहाँले सरकारले अन्य ७ वटा त्यस्तै खालको प्लान्टहरु पनि निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पार्नु भयो । मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै बागमती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने पनि बताउनु भयो । सो पानीलाई फोहोर बनाउने ढललगायतका अन्य बस्तुहरुको पनि उचित व्यवस्थापन गरेर मात्रै बागमती नदीलाई सफा राख्न सकिने उहाँको भनाई थियो ।

मन्त्री गुरुङले भन्नु भयो, ‘नेपालमा पहिलो ट्रिटमेन्ट प्लान्ट भएको कारणले गर्दाखेरी यो सम्भव छ भन्ने कुरालाई यसले प्रमाणित गरेको छ । र, यसलाई नै हामीले आधार बनाएर अरु ७ वटा निर्माणको चरणमा छ । त्यो हिसावले गर्दाखेरी हामीले प्रभावकारी ढंगले अगाढि बढाउन सक्यौं भने राम्रै हुन्छ भन्ने मलाई चाँही लागेको छ । यो जति हामीले निर्माण गर्नेछौं । पहिलो फेज, दोस्रो फेजबाट भएको गल्ती कमजोरी कहाँ भएको छ भन्ने कुरालाई सच्याउँदै हामीले नयाँ प्लान्ट बनाउनु आवश्यक छ भन्ने मैले ठानेको छु । फोहोर व्यवस्थापनमा यहाँ फिल्टर गरेर मात्रै हुन्छ भन्ने चाँही होइन । हामीले त्योसँग जोडिएर आउने एकीकृत अन्य सरोकारका विषय के छन ? भन्ने कुरालाई नहेरीकन, त्यसलाई नकेलाईकन, त्यसको समाधानको बाटो नखोजीकन यही फिल्टर गरेरै पानी सफा हुन्छ भन्ने ठान्यौं भने त्यो सम्भव छैन । तर मलाई के लाग्छ भने यही नदीसँग जोडिएको हरेक ठाउँमा चाँही ढल मिसाउने, फोहोरहरु नदेखिन समयमा ल्याएर मिसाई दिने यी कारणले गर्दाखेरी समस्या भएको छ । ढललाई चाँही हामीले सकेसम्म सेप्रेट नै गर्न सक्यौं भने यहाँ मात्रै होइन सबै ठाउँमा त्यसरी गर्न सक्यौ भने हामीले गरेको कामलाई प्रभावकारी बनाउन सकिन्छ होला । नत्र यहाँ हामीले फिल्टर गर्ने तलतिर पुगेपछि त्यो ढल मिसिने अनि जस्ताको तस्तै हुने कुराले चाँही हामी कहिल्यै पनि उद्देश्यमा पुग्न सक्दैनौं । त्यो हिसावले पनि राम्रो कामको सुरुवात भएको छ । यसलाई प्रभावकारी बनाउनका निम्ति चाँही हामीले योसँग जोडिएका अन्य कार्यक्रमहरुलाई व्यवस्थित गरेर लैजानुपर्ने मैले महशुस गरेको छु । म मन्त्रालयमा आएको छोटो समय भएको छ । यो नयाँ काम भईरहेको छ । तर, यसको प्रभावकारिता के त । हामीले अन्य ७ वटा ठाउँमा पनि बनाउने भनिरहेका छौं । जति काम भएको छ । हामीले सुनेको भन्दा देखेको चाँही यथार्थ हुन सक्छ भन्ने हिसावले पनि आज चाँही म हेर्न प¥यो । र, गल्ती कमजोरी कहीँ भएको छ भने त्यसलाई सुधार पनि गर्नु प¥यो । र, आगामी बन्ने संरचनाहरुमा चाँही काँहीबाट पनि त्रुटि नहोस् भन्ने हिसावले पनि म आज यहाँ निरीक्षणको निम्ति आएको हुँ । यहाँको राम्रा कुराहरु र करेक्शन गर्नुपर्ने कुराहरुको बारेमा सबैतिर प्रचारप्रसार हुनुपर्ने मैले जरुरी ठानेको छु । अर्को चाँही यहाँ भएका गल्ती कमजोरी सुधार गर्नका लागि सबैले चासो र चिन्ता गर्नुपर्ने मैले देखेको छु ।’

मन्त्री गुरुङलाई सो प्लान्टबारे अधिकार सम्पन्न बाग्मती सभ्याता एकीकृत विकास समितिका पदाधिकारीहरुले जानकारी दिएका थिए । सरकारले काठमाडौंको बागमती नदीलाई सफा राख्नका लागि फोहोर पानी प्रदुषण प्रशोधन प्लान्टको निर्माण कार्यक्रमलाई चरणवद्ध रुपमा अघि बढाउने गरी आवश्यक नीति तथा कार्यक्रम र बजेट तय गरेको छ ।

Leave a Reply