केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

केही दिनमै समाजवादी मोर्चा घोषणा हुने प्रचण्डको उद्घोष

काठमाडौं, ३२ जेठ। नेपालको राजनीतिमा बेलाबेलामा चल्दै आएको वामपन्थी र कम्युनिस्ट शक्तिलाई एकतावद्ध गरी समाजवादी केन्द्र बनाउने बहस फेरी ब्युँतिएको छ । केही वर्षयता कम्युनिस्ट धारका सानाठूला दलहरूबीच समाजवादी केन्द्र बनाउने चर्चा चल्दै सेलाउँदै आएको अवस्थामा यो बहसलाई फेरि ब्युँताइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै समाजवादी केन्द्र बनाएर समाजवादी क्रान्तिको तयारीमा लाग्ने बताउनुभयो । बुधबार दाङको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको समेत बताउनुभयो । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरेको थियो । सोही दस्तावेजअनुसार पार्टी अघि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी क्रान्ति सीधा र सरल नहुने भन्दै उहाँले भन्नुुभयो –‘यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्वमा हुन्छ ।’ समाजवादी मोर्चाको दस्तावेज समेत टुंग्याएको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेकपा समाजवादी, विप्लव समूहको नेकपा, वामदेव गौतमले नेतृत्व गरेका शक्तिलाई मिलाएर केही दिनभित्रै समाजवादी मोर्चा घोषणा हुने उद्घोष पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालको उक्त अभिव्यक्तिपछि सेलाएको समाजवादी केन्द्रको बहस पुनः चलायमान भएको नेताहरूले बताएका छन् । यो बहसलाई जीवित राख्नका लागि बेलाबेलामा बहसहरू हुने गरेको जिकिर गर्दै एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘समाजवादी मोर्चा हाम्रो लक्ष्य हो । त्यसलाई कार्यान्वयनमा ल्याउने चरणमा छलफल अघि बढाएका छौं । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, संसद्को उपनिर्वाचन, सरकारका नीति, कार्यक्रम र बजेटलगायतका कारण बीचमा केही ढिला भयो । अब केही दिनमै समाजवादी केन्द्र बनाउँछौं । दलहरूले आ–आफ्नो दस्तावेजहरू तयार गरिसकेको र त्यसमा छलफल समेत भइसकेकाले तत्काल कार्यान्वयन हुन्छ ।’ उहाँले समाजवादी केन्द्रमा आवद्ध हुन चाहने कम्युनिष्ट र वामपन्थी दलहरूका कारण केही ढिला हुने भयो भने पनि उहाँहरूसँग छलफल कायमै राखेर माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गरी तीन दलको मोर्चा तत्काल बन्ने तयारीमा रहेको दाबी पनि गर्नुभयो ।

दलहरूसँगको सल्लाहअनुसार नै प्रधानमन्त्री प्रचण्डले यस विषयमा अभिव्यक्ति दिनुभएको नेताहरूले बताएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा गत वैशाख १० मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत चाँडै समाजवादी मोर्चा निर्माण गर्ने बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘हामी छिट्टै समाजवादी मोर्चा बनाएर जाने अभियानमा छौं । कम्युनिस्ट घटकहरूबीच समाजवादी मोर्चाबाट शुरू गरेर कार्यशैली, सोच र मन मिल्यो भने एउटै पार्टी बनाउनसमेत सकिन्छ ।’ त्यसअघि पनि पटकपटक यो विषयले चर्चा पाउँदै आएको थियो । तर कम्युनिस्ट एकताको नारा दिएर झण्डै दुई तिहाइको सरकार बनाएको एमाले र माओवादी केन्द्र लामो समय एकै ठाउँ रहन नसकेर भिन्नभिन्न बाटो रोजेपछि कार्यकर्ताहरूले समेत नेताहरूको योजनालाई गहन रूपमा लिएका छैनन् । एमाले र माओवादी पार्टी टुक्रिएर दुई तिहाइको सरकार अवसान भएको तिक्तता मेटिन नपाउँदै फेरि समाजवादी मोर्चाको बहस ब्युँताउनु कम्युनिस्ट पार्टीको अस्तित्वको रक्षा र सत्ताको भ¥याङ उक्लिने सिंढी मात्रै भएको वाम विश्लेषकहरू बताउँछन् । नेपाली समाजको रूपान्तरण, उत्पीडनवर्ग र समुदायले अधिकारको कुरो उठाउँदा त्यसप्रति विरोधी रवैया अपनाउँदै आएको अहिलेका कम्युनिस्ट पार्टीहरूप्रति जनता उत्साहित हुन नसकेको उनीहरूको टिप्पणी छ ।

समाजवादी केन्द्र र एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा नेताहरूले वर्षौंदेखि बहस चलाउँदै आए पनि एकताभन्दा बढी फुटले कम्युनिस्ट पार्टीहरू खिइँदै गएका छन् । तत्कालीन समयमा एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपा फुटमा राम्रै भूमिका खेलेका नेताहरूले नै समाजवादी मोर्चा र कम्युनिस्ट एकताको कुरा गरेर समय वर्वाद मात्रै गरेको एमालेका नेता विशाल भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो–‘कम्युनिस्ट एकता गरेर ठूलो कम्युनिस्ट पार्टी बनाउँदा त्यसलाई फुटमा रूपान्तरण गर्नेहरूले फेरि कम्युनिस्ट केन्द्रको कुरा गर्नु जनता ढाँट्ने कुरा मात्रै हुन् ।’

यद्यपि, एमाले बाहेकका साना ठूला कम्युनिस्ट घटकहरूले कम्युनिस्ट केन्द्र हुँदै पार्टीको एकतासम्म जान सक्ने दाबी गरेका छन् । तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने भएकाले एमालेमा नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउने माओवादी केन्द्रले विश्वास व्यक्त गरेको छ । एमालेभित्रका मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउँदै आउनुभएको छ । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);