नेपाल स्टक एक्सचेञ्जले सरकारी कोषमा रहेको रकमलाई पूँजी बजारमार्फत परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेपाल स्टक एक्सचेञ्जले सरकारी कोषमा रहेको रकमलाई पूँजी बजारमार्फत परिचालन

stock_exchange_nepse

काठमाडौं, २५ पुष । नेपाल स्टक एक्सचेञ्जले सरकारी कोषमा रहेको करिब ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल गरेको हो ।

कोषलाई स्थिररुपमा मात्रै राख्दा त्यसले कुनै पनि मुनाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिनुभयो । कर्मचारी सञ्चय कोषसँग २ खर्ब ५० अर्ब रुपैयाँ सञ्चित कोष रहेको छ ।

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा १४ अर्ब रुपैयाँ रकम रहेको छ । नेपाल प्रहरीको कल्याणकारी कोषमा २ अर्ब १९ करोड रुपैयाँ तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजना छ ।

नेपालको पूँजी बजारमा बजार पुँजीकरण करिब १६ खर्ब रुपैयाँको रहेको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइ स्टकको रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);