निर्वाचन खर्चको प्रारम्भिक विवरण सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८३, बिहीबार

काठमाडौं, २३ पुष । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

आयोगले आज सार्वजनिक गरेको विवरण अनुसार दुवै तहको निर्वाचनमा गरी ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ खर्च भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट प्राप्त १० अर्ब रुपियाँमध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको आयोगले जनाएको छ ।

निर्वाचन कार्यका लागि छुट्याएको ९ अर्ब ७० करोड रुपियाँ मध्ये २०७४ पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ अर्थात कुल बजेटको ५७ दशमलव ९६ प्रतिशत रुपियाँ मात्र खर्च भएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जसमध्ये ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६ सय ८ रुपियाँ ७७ जिल्लामा निकासा भएको र ७६ करोड ६ लाख ७८ हजार ६ सय ९१ आयोगको केन्द्रीय कार्यालयबाट खर्च भएको छ ।

प्राप्त बजेटमध्ये बाँकी रहेको ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपियाँ राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्यका लागि प्रयोग हुने आयोगको भनाइ छ । आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गर्दै मितव्ययी तथा पारदर्शीरूपले खर्च गरेको दाबी गरेको छ ।

ताजा समाचार