एजेन्सी, २३ पुष । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति भएको दाबी गरेका छन् ।
आफ्नो बारेमा आलोचना गरिएको पुस्तक सार्वजनिक भएपछि ट्वीटरमा निकै सक्रिय भएका ट्रम्पले मानसिक स्थिरता आफ्नो सबैभन्दा ठूला सम्पत्ति भएको उल्लेख गरेका छन् । उनले रुससँग जोडिएका अनुसन्धानहरु पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्रयाटहरुले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिन्ह उठाएको बताए ।
ट्रम्प असक्षम राष्ट्रपति भएको भन्दै तीव्र आलोचना गरिएको माइकल वूल्फको फायर एण्ड फ्युरी पुस्तक गत शुक्रबार सार्वजनिक भएको थियो । पुस्तकका लेखक वूल्फले, पुस्तकले राष्ट्रपति ट्रम्पलाई पदत्याग गर्न बाध्य तुल्याउने दाबी गरेका छन् । ट्रम्पका वकिलहरुले फायर एण्ड फ्युरी पुस्तक प्रकाशनमा रोक लगाउने कोसिस गरेका थिए तर, शुक्रवार प्रकाशित त्यो पुस्तक निकै धेरै संख्यामा बिक्री भइसकेको बताइएको छ ।
पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् । ट्रम्पले आफ्नो आलोचना गरिएको पुस्तकलाई कथाको संज्ञा दिएका छन् ।