त्यो घटना जसले रेशमलाई जन्मकैद दिलायो (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

त्यो घटना जसले रेशमलाई जन्मकैद दिलायो (भिडियो रिपोर्ट)

बटुकराज गिरी । आवाजको दुनियाँबाट लोकप्रीय बन्दै थरुहट आन्दोलनको नेता बनेका थिए रेशमलाल चौधरी । लोकप्रीयताकै जगमा नेता त बने तर जातीय हिंसामा जोडिंदा चौधरीको राजनीतिक भविष्य नै संकटमा प¥यो । सर्वोच्च अदालतको फैसलाले उनले जन्मकैद सजाय भोग्नुपर्ने भएको छ । अब उनले चुनाव लड्ने ढोका लगभग बन्द भएको छ ।

रेडियो कार्यक्रममार्फत् लोकप्रीय बनेका थिए रेशमलाल चौधरी । तर, उनै चौधरी थरुहट आन्दोलनमा जोडिए । २०७२ सालको भदौमा चलेको थरुहट आन्दोलनले साम्प्रदायिक हिंसाको रुप लियो । टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र २ वर्षको बालकको हत्या भयो । प्रहरीका एसएसपी लक्ष्मण न्यौपानको विभत्स हत्या भएको थियो । घटनामा रेशम चौधरी मुख्य नाइकेका रुपमा मुछिए । घटनामा संलग्नताको आरोपमा थप ५० जना प्रहरीको खोजीमा परे ।

रेशम चौधरी फरार हुँदैको अवस्थामा जिल्ला अदालत कैलालीले दोषी ठहर गरिदियो । फरार अवस्थामै चौधरीले २०७० सालको चुनाव जितेर सांसद त बने तर शपथको विषय नै राजनीतिक मुद्या बन्यो । जेलबाट निकालिएर चौधरीलाई शपथ गराइयो । तर, त्यसपछि उनी संसद नछिरी प्रतिनिधि सभाको कार्यकाल सकियो । रेशम चौधरीको लोकप्रीयता घटेन बरु बढ्यो । उनी जेलमै छँदा नागरिक उन्मुक्ति पार्टी गठन गरे । रेशम चौधरीकी पत्नी रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष बनिन् । २०७९ को चुनावमा उक्त पार्टीले ४ सिट जित्यो । प्रचण्ड नेतृत्वको सरकारमा रञ्जीता भूमि व्यवस्था मन्त्री बनिन् ।

नागरिक उन्मुक्ति पार्टीको उदय रेशम चौधरीको रिहाईसँग जोडिएको थियो । जातीय मुद्या लिएर उदाएको उक्त पार्टी अब के हुने हो चासोको विषय बनेको छ । सर्वोच्च अदालतको फैसलाले यसअघि जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेकाले अब रेशम चौधरीले जन्म कैद सजाय भोग्नुपर्ने भएको छ । यसबीच उनी चुनाव लड्न पाउने छैनन् । अब उनको राजनीतिक भविष्य कसरी अगाडि बढ्छ ? चासो छ । रेशमकै रिहाईको मुद्याले उदाएको उनको पार्टीको भविष्य के हुने हो ? यो भविष्यकै गर्भमा छ । रेशम छोटो समयमै राजनीतिमा उदाए र हिंसामा मुछिएर जेल गए । जेलमै पनि शक्तिको भरपूर अभ्यास गरिरहेका छन् । तर, उनको गम्भीर गल्ती राजनीतिक सौदावाजीमा क्षमामा रुपान्तरित हुन सकेन । अदालतले दूधको दूध पानीको पानी छुट्याइदियो । हिंसाको राजनीतिलाई कुनैपनि हालतमा प्रोत्साहित नगर्ने गतिलो सन्देश दियो ।

जातीय, साम्प्रादायिक जस्ता गम्भीर मुद्या लिएर हिंसामा उत्रने जुनसुकै समूहले समाजमा ऊर्जा पाउनुहुँदैन भन्ने मान्यता र मर्म अनुसार फैसला आएको छ सर्वोच्चको । आशा छ जातीय तथा साम्प्रदायिक द्वेषको जगमा उभिएर भविष्यमा अर्को रेशम चौधरीको उदय हुने परिस्थिति कदापि निर्माण हुनेछैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);