जीविकोपार्जनको मुख्य श्रोत गिट्टी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८३, मंगलबार

जीविकोपार्जनको मुख्य श्रोत गिट्टी

विमल जैरु, डडेल्धुरा
डडेल्धुरा, २२ पुस । डोटीको डाक्टर केआई सिंह राजमार्ग अन्तर्गत स्याउले–डोटी खण्डमा बालबालिकादेखि वृद्धवृद्धासम्म लामबद्ध भएर गिट्टी कुटिरहेका भेटिन्छन् । जीविकोपार्जनका अन्य बाटो नभेटेपछि उनीहरू हातमा रबर र घन लिएर ढुंगा फुटाउन दैनिक जाने गरेका हुन् ।

डडेल्धुराकी कलावती रोका घाम झुल्किँदा–नभुल्किँदै रबर र घन बोकेर डाक्टर केआई सिंह राजमार्गमा पुगिसक्छिन् । घर–परिवार पाल्न र छोराछोरी पढाउन दैनिक गिटी कुट्नु उनको बाध्यता हो । केआई सिंह राजमार्गकै छेउमा दिलसरी घर्ती पनि छोराछोरीसहित गिटी कुटिरहेकी भेटिन्छिन् ।

राजमार्गछेउमा महिला, बालबालिका र वृद्धवृद्धासम्म गिटी कुट्न पुग्छन् । आम्दानीको अरु बाटो नभएपछि स्कुल बिदाको समयमा उनीहरूले छोराछोरीको समेत सहयोग लिन्छन् । तर, दिनभर गिटी कुट्ने उनीहरुले परिश्रम गरेअनुसारको मूल्य भने पाउँदैनन् ।

गिटी कुटेर उनीहरूले मासिक ७ देखि ८ हजार रुपैयाँ कमाउँछन् । ठेकेदारले त्यहीँ आएर लगिदिने भएकाले खेतबारी भएकाहरू पनि फुर्सदको समयमा गिटी कुट्न जाने गर्छन् । खेत नभएकाहरूको पूरा दिन सडककिनारमै बित्ने गर्छ ।

पश्चिम पहाडी जिल्लामा क्रसर उद्योग नभएकाले घर निर्माणदेखि अन्य विकास निर्माणका कामका लागि ठेकेदारहरू हातले कुटेको गिटीमा भर पर्नुपर्छ । तर, अन्यत्र लगेर महँगो मूल्यमा बेच्नेहरूले गिटी कुट्ने मजदुरहरूलाई पनि परिश्रमअनुसारको मूल्य तिर्ने हो भने उनीहरूको जीवनयापन थप सहज हुने थियो ।

ताजा समाचार