एजेन्सी, २५ वैशाख । पेरुको सुन खानीमा आगलागी भएको छ । दक्षिणी पेरुको एउटा सानो सुन खानीमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो दुई दशक भन्दा बढीमा देशको सबैभन्दा घातक खानी दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।
घटनाबारे पेरुको सरकारले दक्षिणी क्षेत्र अरेक्विपामा शनिबार बिहान सर्ट सर्किटका कारण आगलागी भएको जनाएको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका तस्विरहरूमा पनि घटनास्थलबाट धुवाँ निस्किएको देखाइएको छ । खानी एक सानो स्तरको फर्म यान्क्विहुआ द्वारा संचालित छ। तर, कम्पनीले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार यानाक्विहुआ प्रहरी चौकीले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । पेरु विश्वको शीर्ष सुन उत्पादक र दोस्रो ठूलो तामा उत्पादक हो । पेरुको ऊर्जा तथा खानी मन्त्रालयको तथ्याङ्क अनुसार यो घटना सन् २००० यताकै सबैभन्दा घातक खानी दुर्घटना हो । सन् २०२२ मा देशभर खानी दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । सन् २००२ पेरुको सबैभन्दा घातक वर्ष थियो, जब विभिन्न खानी दुर्घटनामा ७३ जनाको मृत्यु भएको थियो।