काठमाडौं, २४ वैशाख । जुम्लाबाट यार्सागुम्बा संकलनका लागि कठिन यात्रामा मुगु पुगेका थियो एउटा टोली । यार्सा संकलन गर्ने क्रममा निरन्तर हिमपात हुन थालेपछि टोली लेकबाट तल झर्दै थियो ।
फर्कने क्रममा टोलीका सदस्यहरु आलोपालो भारी बोक्दै झरिरहेका थिए । कठिन भूगोल र बाक्लो हिउँले यात्रा कठिन हुँदै थियो । यस क्रममा अचानक हिमपहिरो खस्दा भागदौड नै मच्चियो ।
प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै मुगुकका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले भने, ‘भारी बोक्नेहरु हिमपहिरोमा परे । दुईजना वेपत्ता भए एकजनाको सास समेत नरहेको निश्चित भएपछि उतै छाडेर आए ।’
घटनामा ज्यान जोगाउनेहरुले नै जुम्ला आई जानकारी गराएका थिए । तर, जिल्ला प्रशासन कार्यालय मुगुले अझै घटनास्थलमा उद्धार टोली पठाउन सकेको छैन । प्रमुख जिल्ला अधिकारीले घटनास्थल पैदल तीन दिनको यात्रामा मात्र पुग्न सकिने भएकाले कठिन भएको सुनाए । हेलिकोप्टरको व्यवस्थाको प्रयास भइरहेको भएपनि हेलिप्याडबाट फेरि एक दिन हिंड्नैपर्ने ठाउँमा खोज्नुपर्ने सुनाए ।
यसैगरी, दार्चुलामा गत हप्ता हिमपहिरोमा पर्नेहरुमध्ये २ जना वेपत्ताको अझै खोजी भइरहेको छ । तीनजनाको शव परिवारलाई बुझाइसकिएको र २ जना वेपत्ताको खोजी चलिरहेको दार्चुला जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए ।
वैशाखको मध्यतिर वर्षा र हिमपात हुँदा यार्सा संकलनमा जानेहरुमध्ये कतिपयले ज्यान गुमाए ।