एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८१, सोमबार

एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आयोगको आग्रह

काठमाडौं, २२ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको हो । उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताउनु भयो ।

उहाँले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गर्नुभयो । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकारी निकायबाट प्रत्यक्ष रुपमा हुने विभेद र लाञ्छनाका विषयहरु आयोगको क्षेत्राधिकार भित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौ । साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो । प्रहरीले त्यो विषय हेरेन भनेपनि आयोगले हेर्छ । दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन ।’

उहाँले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गर्नुभयो । उजुरी उपर कठोरताका साथ कारबाही गरिने उहाँले बताउनु भयो । उहाँले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आगामी दिनमा एचआईभी संक्रमितहरुको पक्षमा प्रहरीले सक्रियतापूर्वक काम गर्ने पनि उहाँले बताउनु भयो ।
उहाँले सामाजिक चेतनालाई अभिवृद्धि गर्ने तर्फपनि सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);