काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा सदस्यको रुपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताउनुभएको हो ।
उहाँले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पार्नुभयो । उहाँले अस्थिरताले कसैको हीत नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने भन्दै जनतामा वितृष्णा जाग्न दिनु नहुने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले सरकार निर्माणको सम्बन्धमा राष्ट्रिय समझदारी बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संसदीय समितिहरुको कामलाई सक्रिय र गतिशिल बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।