अनशनरत किसानले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

अनशनरत किसानले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैगागीसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिनुभएको छ ।

सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आएलगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराउनुभएको थियो । उहाँले मन्त्रालयबाटै वार्ता टोली बनाई निरन्तर छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);