हुम्लामा विकाससँगै प्रदुषणः मासिँदै कर्णाली सभ्यता | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

हुम्लामा विकाससँगै प्रदुषणः मासिँदै कर्णाली सभ्यता

हुम्ला। कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ ।

सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।

कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरुका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ । साँयाका ४ वटा गाँउका मानिसहरुको दैनिक उपोभोग गर्ने सामानहरुको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बिस्तारको क्रम बढेको हो । बजार बिस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दुषित बन्दै गएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरु कर्णालीकै पानी पिउने गर्दथे । तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् । स्थानीय रेलकला शाहीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदुषित हुन पुगेको बताउनु भयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरु बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनु भयो । मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको बताउनु भयो ।

कर्णाली करिडोरको सडक बिस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनु भयो ।

करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनु भयो । उहाँले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भविष्यमा मानव सभ्यता जोगाउने भुमिका कर्णालीले खेल्ने पनि बताउनु भयो ।

यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरु आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरु काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनु भयो । हुम्लाको उत्पादनले बाहिरका बजारलाई बिस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरुले स्थानीय बजार बिस्थापन गरेको बताउनु भयो । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताउनु भयो । उहाँले विकासले स्थानीय उत्पादनहरु लोप हुँदै गएको बताउनु भयो । उहाँकाअनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।

कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);