२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
बिहिवार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । आदेशमा १० दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनिएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतको पूर्ण इजलासले प्रहरी नायव महानीरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार वर्षको कार्य मूल्यांकनमा पहिलो नम्बरमा परेकालाई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो । कांग्रेसले भने सर्वोच्चको यो आदेशलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप भएको भन्दै आएको छ ।