अध्यक्ष नपाएसम्म एमालेसँग पार्टी एकता नगर्ने अडान लिएको भन्ने कुरा गलत –
काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामगठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने कुरा आफुले सोच्न पनि नसक्ने बताएका छन् ।
काँग्रेसले प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेको चर्चा भईरहेका बेला अध्यक्ष दाहालले बाम गठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने स्पष्ट पारेका हुन् ।
बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले जनताले निर्वाचनमार्फत् बाम गठबन्धन नेतृत्वको सरकार बनाउन म्यान्डेट दिएकाले सोही अनुसार सरकार बन्ने उनले बताए । उनले निर्वाचन अघि जनतामाझ गरिएको संकल्प अनुसार बाम गठबन्धन नेतृत्वको सरकार बन्ने स्मरण गराए ।
अध्यक्ष नपाएसम्म एमालेसँग पार्टी एकता नगर्ने अडान लिएको भन्ने कुरा गलत
पार्टी एकतापछि अध्यक्ष नपाएसम्म एमालेसँग पार्टी एकता नगर्ने अडान लिएको भन्ने कुरामा पनि सत्यता नभएको प्रचण्डले बताएका छन् । उनले पार्टी एकता गर्दा कार्यकारी पद बाँडफाँड गरेर जाने विषयमा सहमति भईसकेको दावी गर्दै त्यसलाई औपचारिकता दिन मात्रै बाँकि रहेको बताए ।
अव १-२ दिन भित्रै पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता प्रक्रियालाई गति दिने उनको भनाई छ । अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन प्रक्रियामा ढिलाई गरेकोमा आफूलाई नमिठो अनुभूति भईरहेको बताएका छन् ।
उनले राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया समेत अघि बढिसकेकाले नयाँ सरकार गठन प्रक्रियामा कुनै पनि अवरोध नरहेको बताए । अध्यक्ष दाहालले कानुनको आडमा नयाँ सरकार गठन प्रक्रियामा अवरोध पु¥याउने काम कसैले पनि गर्न नहुनेमा जोड दिए ।