काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिनुभएको छ ।
एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
एमाले गंगाजस्तै हो भन्दै उहाँले एमालेमा प्रवेश गरेपछि खहरेको प्रवृत्ति बोक्न नहुने प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्न सुझाव दिनुभयो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताउनुभयो । एमाले इमानका लागि इमानका साथ लडेको पार्टी भएकाले बेइमानी भन्ने कुरा कल्पनासमेत गर्न नसकिने उहाँको भनाइ थियो ।