तौलमा ठगिँदै उपभोक्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तौलमा ठगिँदै उपभोक्ता

taul

काभ्रे,१८ पुस । सडक तथा अन्य सार्वजानिक स्थलमा फलफूल, तरकारी तथा किराना पसलमा बिक्री गर्ने व्यापारीले प्रयोगमा ल्याउने गरेका नापतौलका सामग्रीको नियमित परीक्षण हुन नसक्दा उपभोक्ता ठगिने गरेका छन् ।

राजधानी पूर्वको प्रमुख व्यापारिक नाका बनेपा स्थित अरनिको राजमार्गमा राखिएका फलफूल, तरकारी तथा खुद्रा पसल मध्ये धेरैजसोले प्रयोग गरिरहेको नापतौल सामग्री वार्षिक रूपमा परीक्षण नहुँदा यसको प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् । एक किलो ग्राम तौलमा एक सय देखि दुई सय ग्रामसम्म नै कम हुने गरेको छ । जिल्लाका प्रमुख व्यापारिक केन्द्र धुलिखेल, बनेपा, पनौती लगायतका स्थानमा गरी करिब २०० सयभन्दा बढी सानातिना व्यापारीले फलफूल, तरकारी तथा खुद्रा व्यापार गर्नेगरेका छन् ।

सडकमा बसेर फलफूल बेच्ने व्यापारीबाट उपभोक्ता बढी ठगिने गरेका छन् । ठेलागाडामा राखेर तरकारी बेच्ने व्यापारीबाट समेत उपभोक्ता ठगिने गरेको कुरा स्वयं स्थानीयले बताउनथालेका छन् । सडकमा राखेर किराना सामान बेच्नेबाट झनै ठगिने गरेका छन् । गुणस्तर तथा नापतौल विभागबाट नियमित रूपमा नापजाँच हुन नसक्दा त्यसको असर उपभोक्तामा परेको छ । बजारमा किनेको एक किलो स्याउ घरपुगेर तौलिँदा ८५० ग्राम मात्र देखियो, बनेपा नगरपालिकाकी राधिका दाहालले गुनासो गर्नुभयो । सामान खरिद गर्दा राम्रैसँग तौलिएको जस्तो गर्छन् तर ढक नै कम तौलको हुने रहेछ, दाहालले भन्नुभयो ।

बजारका व्यापारीमा पनि कतिपयलाई तराजु वार्षिक परिक्षण गराउनुपर्छ भन्ने जानकारी समेत छैन । हरेक वर्ष आफ्ना ढक तराजु परीक्षण गर्नुपर्ने कुरालाई व्यापारी भने स्वीकार गर्दैनन् । भारत मोतिहारी घर बताउने फलफूल व्यापारी यसो कुरा आफूलाई थाहा नभएको बताउँछन् । सधै एकै स्थानमा बसेर व्यापार गर्नेले एक पटक त झुक्याउला तर अर्को पटक झुक्यायो भने उसले व्यापार नै गर्नुपर्दैन, ती व्यापारीले तर्क गरे ।

सबैमा डिजिटल मेसिन हुनुपर्ने बताए पनि फुटपाथ पसलमा भने लागू हुन सकेको छैन । सरकारी कार्यालयको अनुगमनमा समेत यस्ता व्यापारी पर्ने गरेका छैनन् । जिल्ला प्रशासन कार्यालयले वर्षको एक पटक दसैँ तिहारको समयमा गर्ने गरेको अनुगमनमा समेत रिक्सा तथा ठेलामा फलफूल, तरकारी तथा खुद्रामा बेच्ने व्यापारीको अनुगमन गर्ने गरेको छैन ।

दसैँ तिहारमा गरिने बजार अनुगमनलाई सरकारी निकायको नक्कली र झारो टराइको कार्य भनेर स्थानीय गोविन्द श्रेष्ठले टिप्पणी गर्नुभयो ।
काभ्रे उद्योग वाणिज्य सङ्घले पनि यस्ता खालका व्यापारीलाई समेट्न सकेको छैन । सङ्घमा आबद्ध नभएकै कारण आफूले नियमन गर्न अप्ठ्यारो भएको सङ्घका कार्यालय प्रमुख पूर्णसागर रञ्जितले बताउनुभयो । सङ्घमा आबद्धलाई डिजिटल काँटा राख्न भनेका छौँ, नभएकाको नियमित चेकजाँच गराउँदै पनि आएका छौँ, उहाँले भन्नुभयो, निश्चित स्थान तोक्दा समेत फुटपाथमा बसेर व्यापार गर्नेहरू आउँदैनन् । व्यापार सञ्चालन गरेबापत यस्ता व्यवसायीले केही रकम बनेपा नगरपालिकालाई बुझाउँछन् । यसको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ, यसमा आएका समस्या समाधानको जिम्मेवारी पनि उसैको हो ।

आफू ठगिँदा उजुरी गर्नुपर्छ भनेर उपभोक्ता सचेत नभएका कारण पनि केही समस्या देखिएको स्थानीय प्रशासनका अधिकारी बताउँछन् । फलफूल, तरकारी लगायत अन्य सामानको खरिद खुला सडकमा राखिएका पसलबाट गर्दा हुने ठगी विरुद्ध सम्बन्धित निकायमा अपिल नगर्ने उपभोक्ता, उजुरीबिना कारबाही नगर्ने सरकारी निकाय र कानुनको दायरा भित्र आएर आफ्नो व्यावसायिक कारोबार गर्न नचाहने व्यापारीका कारण नापतौल सामग्रीका माध्यमबाट ठग्ने ठगिने क्रम निरन्तर जारी छ । सरोकारवालाले तत्काल यसबारे पहल नगरे उपभोक्ता ठगिने क्रम नरोकिने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।आजको गोरखापत्र दैनिकमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);