एक बालक फ्यान, जसले विश्वलाई रुवाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक बालक फ्यान, जसले विश्वलाई रुवाए

balak

लन्डन । सन् २०१७ को यो अन्तिम क्षणमा सारा विश्व नयाँ वर्षको स्वागत गर्न आतुर छ । अबको केही घन्टापछि नै नयाँनयाँ सम्भावनाहरूको ढोका खोल्ने आशा बोकेर सन् २०१८ को नयाँ बिहानी हाम्रो घरदैलोमा आइपुग्नेछ । पक्कै पनि यतिबेला सन् २०१७ मा आफूले देखे÷भोगेको कैयौं तितामिठा क्षणहरूलाई सम्झँदै पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गर्न सबै आआफ्नै तयारीमा व्यस्त छन् ।

कौतुहलपूर्ण आँखा र उल्लासमय मनहरू नयाँ वर्षको स्वागत गर्न आतुर रहेको यही परिवेशमा विश्व खेलकुदसँग जोडिएको एउटा तितो घटना कम्प्युटरको पर्दामा देखा परेको छ, सायद सन् २०१७ मा विश्व खेलकुदले आत्मसात् गर्नु परेको सबैभन्दा दुःखद् क्षण । एक कलिला बालकसँग जोडिएको प्रसंग हो, यो । जो विश्व फुटबलसँग अभिन्न रूपमा जोडिएका थिए, जो फुटबल भनेपछि हुरुक्कै हुन्थे अनि, जो सानै उमेरमा एउटा फुटबल क्लबको ‘ठूला समर्थक’ पनि थिए । इङ्ल्यान्डको ब्ल्याकहल कोलियरीमा जन्मिएका ६ वर्षीय ब्राड्ली लोरी इङ्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डका अन्ध समर्थक थिए ।

फुटबल ब्राड्लीको सबैभन्दा मनपर्ने खेल अनि, सन्डरल्यान्डको खेल त झनै उनको सबैभन्दा ठूलो कमजोरी । फुटबल बुझ्न थालेयता ब्राड्लीले सायदै सन्डरल्यान्डको कुनै खेल छुटाए होलान । ब्राड्लीको आमाबुवा पनि आफ्नो छोराको फुटबलप्रतिको लगावबाट भलिभाती परिचित थिए । आमाबुवाका लागि पनि फुटबल हेर्दा छोराको मुहारमा आउने चमक, पीडा भुलाउने एउटा आधार बनेको थियो ।

वास्तवमा ब्राड्ली जन्मदेखि नै विश्वमा विरलै देखिने गम्भीर किसिमको क्यान्सर रोगबाट पीडित थिए । ब्राड्ली केवल १८ महिनाको हुँदा उनी ‘न्युरोब्लास्टोमा’ बाट पीडित रहेको चिकित्सकहरूले पत्ता लगाएका थिए । मनभरि पीडा र झिनो आशा बोकेर ब्राड्लीको परिवार उनको उपचारमा सक्रिय थियो । यस्तोमा ब्राड्लीका लागि फुटबल एउटा रमाउने बाटो बनेको थियो भने फुटबलले छोराको मुहारमा ल्याउने चमक उनको आमाबुवाका लागि पीडा भुलाउने माध्यम । सन्डरल्यान्ड फुटबल क्लबप्रतिको ब्राड्लीको आशक्ति र उनको रोगको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि क्लबका खेलाडीहरू पनि उनीसँग नजिकिएका थिए ।

सन्डरल्यान्डका थुप्रै चर्चित खेलाडी ब्राड्लीको स्वास्थ्य अवस्था बुझ्न उनको घर गइरहन्थे । खेल हेर्न रंगशाला पुग्दा पनि खेलाडीहरू मैदानमा उनलाई बोकेर घुमाउँथे । त्यसमध्ये पनि सन्डरल्यान्डका चर्चित खेलाडी जर्माइन डेफोए ब्राड्लीसँग भावनात्मक रूपमा अझ बढी जोडिएका थिए । सन् २०१५ देखि सन् २०१७ सम्म सन्डरल्यान्डबाट व्यावसायिक फुटबल खेलेका इङ्लिस राष्ट्रिय टोलीका ३५ वर्षीय स्ट्राइकर हाल भने बर्नमाउथमा आबद्ध छन् ।

डेफोए बारम्बार ब्राड्लीको स्वास्थ्य अवस्था बुझ्न उनको घर र अस्पताल धाइरहन्थे । ‘म सधैं तिमीलाई आफ्नो मुटुमा तिमीलाई बोकेर हिँड्नेछु अनि, म निदाउँदा पनि तिमी मेरो अँगालोमा हुनेछौं’, ब्राड्लीलाई बोकेर डेफोए भन्ने गर्थे । आफ्नो बाल समर्थकको सम्मानमा सन्डरल्यान्डले त ब्राड्लीलाई आफ्नो मस्कटको रूपमा समेत प्रयोग गरेको थियो । यसैगरी डेफोएले ब्राड्लीकै नाममा इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीको जर्सीसमेत बनाएका थिए, जसमा नम्बर ६ लेखिएको थियो ।

ब्राड्लीको समाचार सञ्चारमाध्यमहरूमा आउन थालेपछि विश्वभरका फुटबलर र फुटबलप्रेमीले उनको उपचारका लागि ठूलो धनराशि सहयोग पनि गर्दै आएका थिए । उनको उपचारका लागि छुट्टै कोष नै स्थापना गरिएको थियो, जसमा लाखौं डलर रकम जम्मा भएको थियो । ‘क्यान्सरको कुनै रङ हुँदैन’, ‘हामी ब्राड्लीको शिघ्र स्वास्थ्यलाभको कामना गर्छौं’ जस्ता नारा अंकित प्ले कार्ड बोकेर थुप्रै पटक यी बाल फुटबल समर्थकका शुभचिन्तहरू प्रार्थना गर्दै सडकमा पनि ओर्लिए ।

तर, क्रूर नियतिका अगाडि कसैको केही लागेन । अन्ततः सन् २०१७ को जुलाई ७ तारिखका दिन यी फुटबलका यी बाल समर्थकले यो संसारबाट सधैंका लागि बिदा लिए । उनको निधनबाट संसारभरिका फुटबल खेलाडी र खेलप्रेमी स्तब्धः भए । सानै उमेरमा संसार छाडेका यी बाल समर्थकको अन्त्येष्टिमा पनि भिजेको आँखा लिएर हजारौं व्यक्ति सडकमा ओइरिएका थिए ।

ब्राड्लीको दुःखद् निधनले उनको आमाबुवा, परिवारका सदस्य र आफन्तलाई मात्र रुवाएन, सञ्चारमाध्यबाट उनको बारेमा जानकारी राख्ने संसारका हरेक कुनाका व्यक्ति मर्माहत भए । विभिन्न सामाजिक सञ्जालमा ब्राड्लीप्रति श्रद्धासुमन अपर्ण गर्नेहरूको ओइरो नै लाग्यो । उनको अन्त्येष्टिमा ठूलो संख्यामा फुटबलरहरू पनि उपस्थित थिए । सन्डरल्यान्डका तात्कालीन प्रशिक्षक डेभिड मोयस आफैं पनि अन्त्येष्टिमा सामेल थिए ।

फुटबलप्रतिको ब्राड्लीको आशक्तिबाट कायल भएको बीबीसीले उनलाई वर्षको उत्कृष्ट व्यक्तित्व घोषणा गर्दै हेलन रोलासन अवार्डसमेत प्रदान गरेको थियो । सन् २०१७ थुप्रै तितामिठा क्षणहरू मानसपटलमा छाडेर हामीबाट बिदा हुँदै गर्दा अनि, नयाँनयाँ सम्भावनाको आशा जगाएर सन् २०१८ को स्वागत गर्दै गर्दा, फुटबल भनेपछि हुरुक्कै हुने यी बाल समर्थक भने हरेक खेलप्रेमीको मस्तिष्कमा सधैं जीवित रहनेछन् ।आजको अन्नपुर्ण पोस्टमा खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);