कांग्रेसलाई माथि उठाउँछु : महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

पोखरा,१७ पुस । कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीको संगठनलाई उकास्ने एक मात्र लक्ष्य रहेको बताएका छन् । पाँच वर्षभित्र पार्टीलाई चुस्त र दुरुस्त बनाएर पुरानै अवस्थामा फर्काउने उनले दाबी गरे ।

‘मलाई पार्टी सभापति र प्रधानमन्त्री बन्ने मन छैन,’ राष्ट्रिय मेलमिलाप दिवसमा आइतबार पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘बीपीले बनाएको पार्टीलाई सुधार गर्नसके मेरो जीवन सफल भएको ठानिनेछ ।’
बीपी कोइरालाले बनाएको कांग्रेसको संगठन धेरै हदसम्म तल झरेको भन्दै उनले भ्रातृ संगठनको अवस्था पनि नराम्रो रहेको बताए । समग्रमा कांग्रेसको मूल्यांकन पद्धति कमजोर रहेको भन्दै उनले यसलाई सुधार्नुपर्ने बताए ।
पार्टी पराजित हुनुमा धेरै हदसम्म सभापतिको हात हुने भए पनि जिम्मेवारी सबैले लिनुपर्नेमा उनले जोड दिए । सभापतिमाथि मात्रै आरोपप्रत्यारोप गर्नुभन्दा सबै एकजुट भएर समस्या समाधानतिर जानुपर्ने उनले बताए ।
आफ्नै आलोचना गर्ने हिम्मत नहुनेले राजनीति गर्न नसक्ने उनले बताए । निर्वाचनमा टिकट वितरणमा कमजोरी भएको उनले स्विकारे । ‘टिकट वितरण, समानुपातिकबाट चयनलगायत निर्णय गलत भएको स्विकार्छौं,’ उनले भने, ‘आगामी दिनमा यसलाई सुधार्नुपर्छ ।’
एकपटक समानुपातिकबाट सांसद भइसकेकालाई फेरि नदिने भन्ने निर्णय भए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताए । पार्टीले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘वामपन्थीलाई दोषी मात्रै ठहर्‍याएर राष्ट्रको उन्नति हुँदैन,’ उनले भने, ‘प्रतिपक्षको भूमिका गैरजिम्मेवार होइन, सकारात्मक हुनुपर्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’
एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनबाट माओवादीलाई अलग्याउनका लागि आफूले पहल गर्ने उनले बताए ।
काठमाडौंमा साथीहरूले मलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग्याउन आग्रह गरेको भन्दै उनले यस विषयमा दाहालसँग कुरा गर्ने मनस्थितिमा रहेको बताए ।
‘माओवादीलाई गठबन्धनबाट अलग्याउन पाएको खण्डमा कांग्रेसको भोलिको रणनीति सफल हुने थियो,’ उनले भने, ‘साथीहरूले मलाई दाहालसँग कुरा गर्न भनेका छन् । सोहीअनुसार कुरा गर्ने मनस्थितिमा छु ।’कान्तिपुर पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);