काठमाडौं, २९ फागुन । आगामी चैत ४ गते चलचित्र कलाकार संघको निर्वाचन हुँदैछ । कार्यसमिति निर्वाचनका लागि अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेती र वरिष्ठ कलाकार मोहन निरौलाको उम्मेदवारी परेको छ ।
सयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री उप्रेती कलाकार संघको नयाँ अध्यक्ष पदमा निर्वाचित हुन सक्रिय रुपमा लागि परेकी छन् । उनी हालकी वरिष्ठ उपाध्यक्ष समेत हुन् । त्यस्तै, वरिष्ठ अग्रज कलाकार निरौलापनि आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।
उपाध्यक्ष पदमा सात जनाले उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् । सदस्य पदमा २६ जनाले उम्मेदवारी दिएका छन् जसमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेललगायतले उम्मेदवारी दिएका छन् ।