एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एनआरएनए चुनाव : १५ पदाधिकारी निर्विरोध, नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । 

उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन् ।

हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेद्वारी परेको छ । खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री ( ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान)ले उम्मेद्वारी दिएका छन् । यीमध्येबाट अत्याधिक मत ल्याउने चारजना मात्र निर्वाचित हुनेछन् ।

यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेद्वारी परेको थियो । दोहोरो उम्मेद्वारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।

महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरन्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । यीमध्येबाट तीन जना निर्वाचित भएर आउनेछन् ।

महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टीका)को एकल उम्मेद्वारी परेकोले निर्विरोध चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन् । त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यता ५ क्षेत्रीय संयोजक पनि निर्विरोध चयन भएका छन् । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासिफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोष कुमार भट्टराई, अमेरिकाज संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन् ।

ओसेनिया क्षेत्रीय संयोजकका लागि भने तीनजनाले उम्मेद्वारी दिएका छन् । न्युजिल्याण्डका लालबहादुर केसी तथा अष्टे«लियका दिपक शर्मा र दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो ।

युरोप उपसंयोजक तीन पदको लागि चारजनाको उम्मेद्वारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान), नविन विक (चीन) र हरिप्रसाद भट्टराई (मलेसिया)बीच प्रतिस्पर्धा हुने भएको हो ।

त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । लालप्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्णबहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो । 
यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन् । जसमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक, उषा किरण बरिया ओसेनिया रहेका छन्।

यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा. इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ  युरोप, स्वराज खाती क्षेत्रीय युवा संयोजक, दिपक प्रसाद कंडेल एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् । संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);