नयाँ मन्त्रिमण्डल विस्तार राष्ट्रपतिको निर्वाचन अघि कि पछि ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नयाँ मन्त्रिमण्डल विस्तार राष्ट्रपतिको निर्वाचन अघि कि पछि ?

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससहितको नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू गर्नुभएको छ ।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा एमालेलगायत दलहरू सरकारबाट बाहिरिएपछि स्वाभाविक रूपमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । यद्यपि, उहाँले शक्ति बाँडफाँटलगालतका सन्दर्भमा भने दलहरूबीच छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी सरकारमा जाने कुरा स्वाभाविक छ । तर, राष्ट्रपतिको निर्वाचन अघि वा पछि जाने भन्ने निक्र्यौल भइसकको छैन । प्रधानमन्त्रीले छलफल गराउनुभएकै छैन । सायद चाँडै छलफल हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले ८ दलको बैठक राखेर छलफल गरेपछि कांग्रेस सरकारमा जानेबारे निर्णयमा पुग्ने जिकिर गर्दै उहाँले सरकारमा कसको नेतृत्वमा जाने भन्ने कुरा पार्टीमा छलफलपछि निर्णय गरिने बताउनुभयो ।

एमालेसहितको सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई महिनामै उक्त गठबन्धन तोड्नुभएको थियो । राष्ट्रपति निर्वाचनका लागि नयाँ समीकरण बनाएर कांग्रेसलाई सहयोग गर्ने माओवादीको निर्णयसँगै सत्ता सहयात्री दल नेकपा एमाले सरकार छाडेको थियो । राप्रपा र रास्वपाले यसअघि नै सरकार छाडिसकेका थिए । अहिले प्रचण्ड सरकारमा माओवादी केन्द्र र सिके राउत नेतृत्वको जनमत पार्टीमात्रै रहेका छन् ।

१६ मन्त्रालय मन्त्रीविहीन भएपछि प्रधानमन्त्रीलाई मन्त्रालयको भार थपिएको छ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताउनुभएको छ । जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको जिकिर गर्दै उहाँले राष्ट्रपति र सभामुख एउटै पार्टीको हुन नहुँने भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रका सचिव राम कार्कीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ समीकरणमा आवद्ध कांग्रेससहितका दलहरूसँग चाँडै छलफल गरेर प्रधानमन्त्री अघि बढ्ने बताउनुभयो ।

कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन गरेर जनतामाझ पाँच वर्ष सँगै रहने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले सरकार निर्माणका समयमा गठबन्धन टुटाए पनि गत पुस २६ कांग्रेसले विश्वासको मत दिएसँगै कांग्रेसप्रति सकारात्मकता देखाउनुभएको थियो ।

कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थाप्न खोजे पनि त्यसमा माछा नपर्ने टिप्पणी गर्दै आएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै मन्त्रीहरूलाई फिर्ता बोलाउनुभएपछि सरकार अल्पमतमा परेको छ । आगामी सरकारमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपासहितका दलहरूलाई सहभागी गराएर सरकारले विश्वासको मत लिने नेताहरूले बताएका छन् । नेपाली कांग्रेस सरकारमा जाने विषयमा द्विविधा नरहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रपतिको निर्वाचनसम्म पर्खने बताउनुभयो ।

‘मन्त्री बनाउन मापदण्ड’

नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ ।

मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिनुभएको थियो । जवाफमा सभापति देउवाले मापदण्ड बनाउने विषयमा आफू सकारात्मक रहेको भन्दै त्यसबारे पार्टीभित्र छलफल गर्ने बताउनुभएको हो । यसपटक सभापति देउवा प्रतिफल दिन सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सकारात्मक देखिनुभएको नेता रसाइलीले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘अहिलेको राजनीतिक परिवेश नै त्यस्तै छ । सकेसम्म प्रतिफल दिने मान्छेलाई नै मन्त्री बनाउने हो । म त्यसबारे छलफल गर्छु । सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाउने कुरामा सकारात्मक छु ।’ संसद्को सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रपति निर्वाचनपछि सरकारमा सहभागी हुने तयारीमा रहेको बताइएको छ । पार्टी सरकारमा जाने भएपछि कांग्रेसमा मन्त्री बन्न आकांक्षीहरूले दौडधुप बढाएका छन् । संसद्मा नरहेका केन्द्रीय सदस्य र नेताहरूले भने सभापतिमाथि पार्टीबाट प्रतिफल दिन सक्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउनुपर्ने दबाब बढाएका छन् । गुटका आधारमा नभई विज्ञता र विगतको पर्पmमेन्स हेरेर मात्रै जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ । यसपटक अवसर नपाएका र प्रत्यक्ष निर्वाचितलाई प्रथमिकता दिनुपर्ने नेता रामहरि खतिवडाको भनाइ छ ।

कांग्रेस सरकारमा जाँदा कसको नेतृत्वमा जाने भन्ने विषयमा आन्तरिक प्रतिष्पर्धासमेत शुरू भइसकेको बताइएको छ । उपप्रधानमन्त्रीसहितको राम्रो मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएकाले पार्टी उपसभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइराला र बिमलेन्द्र निधीबिच प्रतिष्पर्धा देखिएको एक नेताले बताए । यो गठबन्धन जोड्नका लागि उपसभापति खड्काको महत्वपूर्ण भूमिका देखिएकाले उहाँकै नेतृत्वमा सरकारमा जाने सम्भावना बढी रहेको उनको भनाइ छ । पार्टीबाट थुप्रै युवा अनुहारहरू संसद्मा आएकाले पटक–पटक मन्त्री भएर केही गर्न नसकेकाहरूलाई भन्दा नयाँ अनुहारलाई मौका दिन र समावेशितालाई ख्यालमा राख्न नेताहरूले सभापतिलाई सुझाव दिएका छन् । समाचार पत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);