काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ रहेको बताउनु भएको छ । ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’–उहाँले सन्देशमा लेख्नुभएको छ ।
नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हेर्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको शुभकामना सन्देश
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
माझी जाति परम्परागत रूपमा पानीसँग नै रमाउँदै र जिउँदै आएको एक विशिष्ट पहिचान भएको जाति हो । विकासका पूर्वाधार, जलविद्युत, सडक आदिको विकासका कारण यस जातिको परम्परागत पेशा बिस्तारै लोप हुँदै गएको छ । यद्यपि, माझी जातिले आजको दिनमा विशेष गरेर नदी र पानीको पूजा गरी मनाउन लागेको चाडपर्वले माझी जाति र पानीको सम्वन्धलाई थप उजागर र स्थापित गर्नेछ ।
वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ । यस अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न र यस पर्वलाई माझी जाति र अन्य समुदायको बीचमा एकता, सद्भाव र सहकार्य थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन हार्दिक अपील गर्दै फेरि एकपटक शुभकामना व्यक्त गर्दछु ।
१६ फागुन २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’