१३ वटा राजनीतिक दलले बुझाए समानुपातिक नामावली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

१३ वटा राजनीतिक दलले बुझाए समानुपातिक नामावली

काठमाडौँ, पुस १५ । प्रदेशसभामा कम्तीमा एक सिट प्राप्त गरेका १३ वटा राजनीतिक दलले शुक्रबार बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये विजयी हुने उम्मेदवारको सूची शुक्रबार निर्वाचन आयोगमा बुझाएका छन् । सातवटा प्रदेशका लागि दलहरूले २२० जना उम्मेदवारको नाम आयोगलाई बुझाएका हुन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार दलहरूले सिफारिस गरेका विजयी हुने उम्मेदवारहरूको नाम आयोगलाई प्राप्त भएको र आवश्यक जाँचबुझ गरी सुधार गर्नुपर्ने भएमा दलहरूलाई तीन दिनको समय दिइने बताउनुभयो । कतिपय एक सिट प्राप्त गर्ने राजनीतिक दलले पुरुषको नाम सिफारिस गरेको पाइएको छ । आयोगका अधिकारीहरूका अनुसार एक सिट प्राप्त गर्ने दलले महिलाकै नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । कानुनअनुसार ३३ प्रतिशत महिला अनिवार्य छ भने अन्य समावेशी समूहमा नाम रहेका वरीयताक्रम अनुसारका उम्मेदवारको नाम पठाउनुपर्नेछ । समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो । सातवटै प्रदेशमा गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७५, नेपाली काँग्रेस ७२, नेकपा (माओवादी केन्द्र) सहितका दल ३५, सङ्घीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टी नेपाल १२, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, विवेकशील साझा पार्टी तीन, राष्ट्रिय जनमोर्चा दुई, नयाँ शक्ति पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले एक/एक सिट प्राप्त गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ ७२ जना उम्मेदवारलाई निर्वाचित गर्न सिफारिससहितको नामावली निर्वाचन आयोगमा बुझाएको छ । यो खबर आजको गोरखापत्रमा छपिएको छ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सात प्रदेशका लागि ७२ जनाको नाम निर्वाचन आयोगमा बुझाएको पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिनुभयो । आयोगले प्रदेशसभाको समानुपातिक तर्फको नामावली बुझाउने अन्तिम समय शुक्रबार तोकेको थियो । निर्वाचन सम्पन्न भएपछि पार्टी सभापति शेरबहादुर देउवाले पहिलोपटक केन्द्रीय सम्पादन समितिको बैठक बोलाउनुभएको थियो । बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश शुक्रबार जारी भएको सन्दर्भमा छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गराउनका लागि पनि सरकारसँग आग्रह गरेको छ । बैठकले निर्वाचनको विषयमा समीक्षा गर्नका लागि केन्द्रीय समितिको बैठक पनि अविलम्ब बस्ने निर्णय गरेको नेता खाँणले जानकारी दिनुभयो । यसैगरी आकाङ्क्षीको विवादका बीच नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभातर्फ समानुपातिक सांसदमा छनोट गरी उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न शुक्रबार आयोगले निर्धारण गरेको अन्तिम समयमा माओवादी केन्द्रले सूची बुझाएको हो । माओवादी स्रोतका अनुसार पार्टीको प्रदेश नं. ३ को सांसद छनोट गर्ने विषयमा निकै चर्काचर्की भएको थियो । प्रदेश नं. १, ४, ६ र ७ को भने बिहीबार नै नाम टु्ङ्गो लगाइएको थियो ।