काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ । २००७ सालको जनक्रान्तिले राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।
देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रित सम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति भएको बताउनुभएको छ ।
नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँनुपर्नेमा जोड दिनुभएको छ । लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने देउवाले विश्वास लिनुभएको छ ।