काठमाडौं, ५ फागुन । प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीको दुईवटा शल्यक्रिया आजै गरिने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारी बुधबार राति खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डरबाट सल्किएको आगो लागेपछि गम्भिर घाइते भएका थिए । उनीसँगै गम्भिर घाइते भएकी उनकी आमा हरिकला भण्डारीको बिहीबार उपचारको क्रममा कीर्तिपुरस्थित बर्न सेन्टरमा निधन भएको थियो ।
बिहीबार नै नेता भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पुर्याइएको छ । उक्त अस्पतालमा भण्डारीको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्रोतका अनुसार शरीरमा फ्लुडको मात्रा डबल गर्ने,१० बजे पहिलो र साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको छ ।