काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ ।
सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताउनु भयो ।
उहाँले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गर्नुभयो ।
उहाँले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानूनहरु पास गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।
जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।