काठमाडौं, २७ माघ । विदेशी मुद्रा सञ्चिती घट्नु खतराको संकेत हो । श्रीलंका विदेशी मुद्रा सञ्चिती घट्दै जाँदा टाट पल्टियो । अर्कोतर्फ, उसले थेग्ने नसक्ने विदेशी ऋण लिँदा ठूलो मूल्य चुकाउनुपरेको थियो । पाकिस्तानको हालत त्यस्तै छ । उसले धनी देश र अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक सहयोगको हारगुहार गरिरहेको छ ।
विशेषगरी चिनियाँ लगानीका आयोजनाका लागि उसले अरबौं डलरको ऋण लिएको थियो । नेपाल पनि एकपछि अर्को ऋणको भारमा पर्दै गएको छ । तर, तत्कालका लागि नेपाल श्रीलंका बन्नबाट जोगिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा २०७९ पौष मसान्तसम्म ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिती रहेको जानकारी दिएको छ । यसले केही आशा त दिलाएको छ । तर, देशमा कतिपय आयोजनाहरु सेतो हात्ति सावित हुँदैछन् । यसले ठूलो आर्थिक बोझ थपिएर संकटको सामना गर्नुपर्ने खतरा बढाएको छ ।