सन्दिप रिजाल \ माउण्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ २४। लागूऔषध समाजको प्रमुख समस्यामध्येको एक बन्दै गएको छ । यसले विशेषगरी युवा पुस्तालाई प्रभावित पार्ने गर्छ । आजकल हरेक बाबुआमाका लागि सन्तान लागूऔषधको कुलतमा लाग्ने हुन् कि भन्ने भयले सताउन थालेको छ । कुलतमा एकपटक लागेपछि सुधार्नै मुश्किल हुने भएकाले पनि लागूऔषध समाजको धमिरा बन्न सक्छ । सरकारको अध्ययन अनुसार नेपालमा १ लाख ३४ हजार लागुऔषधका प्रयोग कर्ता रहेका छन् । आर्थिक बर्ष २०७५÷०७६ देखी चालुआर्थिक वर्षको पुस मसान्त सम्म नेपाल प्रहरीले २३ हजार २ सय ६० जनालाई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
यीमध्ये पुरुष २२ हजार १ सय ८१ छन् भने महिला १ हजार ७९ जना छन् । सबैभन्दा बढी नेपाली पुरुष २१ हजार ४ सय १ छन् भने महिला १ हजार ३६ रहेका छन् । तर, सरकारी अध्ययन भन्दा ६ गुणा बढी लागूऔषध प्रयोगकर्ता रहेको दाबी गरिएको छ । नेपाली मात्रै नभएर भारतसहित अन्य देशका नागरिक पनि लागुऔषध कारोबारीका रुपमा देशभित्रै सक्रिय रहेको तथ्यांक छ । पाँच बर्षको तथ्यांक हेर्दा पुरुष ७३५ र महिला २६ जना भारतीय छन् भने बाँकी अन्य देशका ४५ पुरुष र १७ महिला छन् । प्रहरीको लागु औषध अनुसन्धान ब्युरोसंग भने हालसम्म नेपालमा लागुऔषधका कति गिरोह सक्रिय छन् भन्ने तथ्यांक छैन । तर प्रयोगकर्ताहरु भने अधिकांश किशोर अवस्थाका युवा युवती रहेको नेपाल प्रहरी बताउँ छ।
नेपालमा सबै भन्दा बढी गाँजा र चरेशका कारोबारी रहेको तथ्यांक देखिन्छ । लागुऔषध प्रयोग कर्ताको उपचार तथा पुनः स्थापनाका लागि काम गर्दै आउनु भएका नार्काेनन् नेपालका रिह्याब स्पेसलिष्ट वसन्तराज कुँवर सरकारी तथ्यांकमा १ लाख ३४ हजार मात्रै प्रयोग कर्ता देखिए पनि कम्तीमा ७ लाख बढी लागुऔषधका प्रयोगकर्ता रहेको ठोकुवा गर्नु हुन्छ।
लागुऔषध नियन्त्रण र कुलतमा फस्दै गएका भावी पुस्ताका लागि राज्य अझै गम्भीर नबन्दा समस्या झन् बढ्दै गएको हो । युवाहरु लागूऔषधको शिकार हुने क्रम बढ्दा समाजमा अशान्ति र अराजकता बढ्दा संकट विकराल हुनसक्छ ।