एकीकृत समाजवादीको नजरमा संसदभित्रका दल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

एकीकृत समाजवादीको नजरमा संसदभित्रका दल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा संसद्भित्र रहेका राजनीतिक दलहरूको चरित्रको बारेमा पनि व्याख्या गरिएको छ ।

अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको अध्यक्ष नेपालको भनाई छ । उहाँले नेपाली कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी भए पनि उ संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको अध्यक्ष नेपालको ठहर छ । वर्ग अडान स्पष्ट नभएको संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै प्रतिवेदनमा एमालेले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर नलगाउने निष्कर्ष निकालिएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमा माओवादी केन्द्र ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको, शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित रहेको र संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै नभएको ठोकुवा गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी भएको जिकिर गरिएको छ ।

सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको रास्वपा प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको अध्यक्ष नेपालको विश्लेषण छ । राप्रपालाई समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि भन्दै उहाँले जसपा मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि र संविधान, गणतन्त्र तथा सङ्घीयताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । जनमत पार्टी पृथकतावादी सोच आँगालेको पार्टी, लोसपा बुर्जुवा चरित्रको, नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने वर्ग चरित्र स्पष्ट नभएको अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ । अध्यक्ष नेपालले नेमकिपा जडसूत्रवादी एवं अत्यन्त सङ्कीर्ण चरित्रको कम्युनिस्ट पार्टी भएको ठोकुवा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);