काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आवद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरुमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गर्नुभयो ।
अहिलेको संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको उहाँकाे भनाइ छ। आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा भएको बताउनुभयो ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेको दाबी गृहमन्त्री लेखकाे छ ।
गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढेको बताउनुभयो ।





