काठमाडौ,१३ पुस । काठमाडौंको द अमदाब्लम होटलमा एक जनाको हत्या भएको छ। भारतको सिलगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको गएराति हत्या भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए।
एनका अनुसार घटनामा संलग्न भएको आरोपमा डोंगी शेर्पासहित पाँच जना पक्राउ परेका छन्।प्रहरी स्रोतले दिएको जानकारीअनुसार गुरुङ र होटलको फ्रन्ट डेस्कमा काम गर्ने डोंगी शेर्पाबीच सुरु बाद विवाद भएको थियो।
शेर्पासँग गुरुङले विवाद गरेपछि उनले डेस्कटप कम्युटरले टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। गुरुङ होटलमा कार्यरत सुरक्षा गार्डले पनि आक्रमण गरेको प्रहरीको भनाई छ।
सिलगुडी घर भएका गुरुङ, अर्जुन थापा र गणेश ढुंगेल उक्त होटेलमा बुधवार मध्यराति पुगेका थिए। उनीहरु ठमेलमा मदिरा सेवन गरेर सुत्न होटलमा आएका थिए ।
होटलमा पुगेपछि ढुंगेल रुममा सुतेको तर, थापा र गुरुङले रिसेप्शनमा गएर थप मदिरा खाने भन्दै बाहिरबाट भएपनि ल्याइदिन आग्रह गरेका थिए। शेर्पाले बाहिर पनि नपाइएको बताएपछि उनिहरुबीच झगडा भएको थियो।