व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

व्यवसायीहरुलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गर्नुभएको छ ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अपm्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गर्नुभएको हो । उहाँले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाई गर्ने गरिएको बताउनु भयो । उहाँले कुनैपनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताउनु भयो । उहाँले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताउनु भयो । उहाँले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताउनु भयो । गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताउनु भयो । तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गर्नुभयो । उहाँले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताउनु भयो । गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको पनि उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याउनु भयो । उहाँले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालिन योजना बनाएर जानुपर्ने देखिएको बताउनु भयो । गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताउनु भयो । उहाँले अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केहीकेही अस्थायी औजार हटाइसकिएको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);