रवि लामिछानेलाई पूनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन : शेरबहादुर तामाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रवि लामिछानेलाई पूनः गृहमन्त्री बनाउन एमालेको दबाब छैन : शेरबहादुर तामाङ

काठमाडौं, १७ माघ । सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले गत मंसिर ४ को निर्वाचनको परीणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको स्पष्ट पारेका छन् । सोमबार राजधानीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताएका हुन् ।

‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरुले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।

सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने उनको दाबी छ ।

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्ने छन्,’उनले भने । साथै, एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाई छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए ।

‘नेपाली कांग्रेसपनि सरकारलाई समर्थन दिएको पार्टी भएकाले सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने हामी राष्ट्रिय सहमतिका लागि त्यसपछि अगाडि बढ्छौं,’ उनले भने । शान्ति प्रकृयाको काम पनि टुंग्याउन बाँकी रहेकाले बाँकी काम टुंग्याउने प्रकृयामा यो सरकार लाग्ने तमाङको दाबी छ । ‘नेकपा (एमाले) एजेण्डालाई लिएर राष्ट्रिय सहमतिका लागि सकारात्मक छ । पदको बाँडफाडको आधारमा होइन,’ उनले भने ।

तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको दाबी गरे । चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनले बताए । उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औंल्याएका छन् । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए । ‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रकृयामा जानुपर्छ । सबै प्रकृयाबाट उहाँ गुज्रिनुहुन्छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);