प्रमिला भण्डारी \ माउण्टेन टेलिभिजन एच्डी।
काठमाडौँ, पौष ५। स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्की पदभार ग्रहण गर्दा चिकित्सककै शैलीमा स्टेथेस्कोपसहित मन्त्रालयमा देखिनुभयो । मन्त्री पदम गिरीले पनि ठूलै सुधारको कुरा गर्नुभएको छ । स्वास्थ्यमा सर्वसाधारणले ठूलो सुधारको आशा गरेका छन्। निःशुल्क, सहज र छिटोछरितो स्वास्थ्योपचार जनअपेक्षा पनि हो । तर, जनताका यी अपेक्षा पूरा गर्न मन्त्री र राज्यमन्त्री दुवैलाई ठूलो चुनौती छ । स्वास्थ्यलाई मौलिक मानव अधिकारको रूपमा लिन थालिएको छ । विकसित देशहरुले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेका छन् । हरेक नागरिकको स्वास्थ्य बीमाका कारण उपचारमा आर्थिक कठिनाई र असुविधा भोग्नुपर्दैन । तर नेपालमा भने आर्थिक अभाव कारण उपचारमा समस्या भोग्ने गरेका छन् धेरै जनताले । विकसित देशहरुले स्वास्थ्यमा ठूलो लगानी गरी अनुसन्धान कार्यहरुलाई महत्व दिएपनि नेपालमा त्यो कमै देखिन्छ । यस्तैमा मंगलवार मात्रै सपथ खानुभएका स्वास्थ्य मन्त्री र राज्यमन्त्री भने स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन ल्याउने दाबी गनुहुन्छ ।
हाल नेपालमा बिरामीहरुको प्रकृति हेर्दा अति विपन्न, गरिब परिवार, द्वन्द्वका कारण घरबार छोडेर घरदेखि टाढा विस्थापित भएका व्यक्तिहरू, शिक्षित बेरोजगारहरू रोजगार पाएका तर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर र उचित ठाउँ नपाएका व्यक्तिहरू आज पनि आफुलाई कमजोर ठान्नु बाहेक उनीहरुसंग कुनै उपाय छैन । भौगोलिक कठिनाइले गर्दा नियमितरूपमा जनशक्ति औषधि, औजार र उपकरण आपूर्ति गर्न सकिएको छैन । स्वास्थ्य क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन तथा निजी क्षेत्रमा स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तरको प्रभावकारी अनुगमन र मूल्याङ्न हुन सकेको छैन । मितव्ययिता र लागत प्रभावकारिताको आधारमा वित्तीय व्यवथापन क्षेत्रमा मितव्यायिता ल्याउनु तथा माग र आपूर्तिको आधारमा उपलब्ध सबै स्रोतहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
विनियोजन रकम पूरै निकास नहुनु, केही कार्यक्रमहरू बजेटको अभावमा कटौती गरिनु दातृ संस्थाहरूले प्रतिबद्धता गरेअनुसारको बजेट समयमा नै उपलब्धि हुन नसक्नु प्रगति कम देखिनु जिल्लाहरूमा स्वास्थ्यकर्मीको कमी हुनु र रिक्त दरबन्दी पूर्ति गर्न समस्या हुनु, दुर्गम स्थानको स्वास्थ्य उपचार सेवामा असमान पहुँच हुनु र विशेषगरी दुर्गम स्थानमा स्वास्थ्य सुविधा ज्यादै नगण्यरूपमा उपलब्ध हुनु वा उपलब्ध नै नहुनु जस्ता समस्याहरु लामो समयदेखी यथावत नै छ । यी समस्याको हल गर्न चुनौती छन् तर असम्भव छैन । केवल इच्छाशक्ति र काम गर्ने जाँगरको खाँचो छ ।