काठमाडौं । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु समुदायको माघी महोत्सवको अवसरमा दिउँसो १२ बजे टुँडिखेलमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, दाहालले आजै टुडिखेलमा आयोजना गरिएको मगर समुदायको माघी महोत्सवमा दिउँसो १ बजे सहभागी हुने कार्यक्रम रहेको छ ।
माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।
भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।