आज माघे संक्रान्ति : घिउ, चाकु र तरुल खाएर मनाइदै | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

आज माघे संक्रान्ति : घिउ, चाकु र तरुल खाएर मनाइदै

काठमाडौं । आज माघे सङ्क्रान्ति । माघीको नामले चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ।

महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);