काठमाडौं । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लव र लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेका छन् ।
शनिवार सम्पन्न पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेका हुन् । एपीएफका लागि कप्तान सीता राना मगरले अविजित १९ तथा रोमा थापाले अविजित १४ रनको पारी खेल्दा ओपनर ज्योति पाण्डेले ८ रनको योगदान गरिन् । यस्तै इन्दु बर्मा र सरिता मगर शुन्यमा पेवेलियन फर्किए । बलिङतर्फ गण्डकीका लागि तीनै विकेट कप्तान सृष्टि जैसीले निकालिन् ।
यस जितसँगै समूह ‘ए’ को एपीएफले समूह तालिकामा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । शनिवार नै सम्पन्न दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । लुम्बिनीबाट पाएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ४९ रनमात्र जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि यमुना थारुले १३ र किरण कुँवरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रमममा कृतिका मरासिनी र मधु डिसीले समान तीन तथा सुस्मिता भुसालले दुई विकेट लिए । क्यानको आयोजना भएको प्रतियोगिता ७ माघसम्म चल्नेछ ।




