८ चैत्र, काठमाडौं । प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेको पूर्ण इजलासले नियुक्तिको विवादको टुंगो लगाउँदै महानिरीक्षकमा बढुवा भएका जयबहादुर चन्दको नियुक्तिलाई बदर गरेको हो । सर्वोच्चको फैसलासँगै चन्दलाई पदबहाल हुने बाटो रोकिएको छ ।
सर्वोच्चले प्रहरी नियमावली अनुसार कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढुवा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देश गरेको छ । फागुन १ गते प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा पहिलो वरीयताका नवराज सिलवाल र दोस्रो वरीयताका प्रकाश अर्याललाई पन्छाउँदै तेस्रो नम्बरका चन्दलाई बढुवा गरेको थियो । बढुवा गरे लगतै प्रधानन्यायाधीश कार्कीकै इजलासले महानिरीक्षक बढुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
चन्दको बढुवाविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र पहिलो नम्बरका सिलवालले अलग अलग मुद्धा हालेका थिए । पटक–पटकको सुनुवाईपछि अन्तरिम आदेशलाई सदर गर्दै न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले दुवै डीआईजीको कार्यसम्पादन मूल्यांकनको फाइल मगाएको थियो । तर, नियुक्तिमा गम्भीर कानुनी प्रश्न उठेको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाएको थियो ।