काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् ।
शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदका दोस्रो, तेस्रो लगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
उनले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे । थापाले नेपाली काँग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताए । उनले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रिय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुनेपनि बताए ।
महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पु¥याउन खोजेको बताए । उनले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरुसँग पार्टी सभापति शेरबहाुरद देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रश्ताव गर्ने भन्नेकुरा निराधार रहेको पनि बताए ।
उनले भने, ‘अरु दलहरुका नेताहरु सभापतिसँग भेट्न उहाँहरु नै समय मागेर आउनुभएको हो, शीर्ष नेताहरुको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरु पार्टीलाई प्रधानमन्त्रीको अफर गर्नेकुरा अफवाह हो, निराधार हो, कानूनले नै मिल्दैन ।’