काठमाडौं । सप्तरीको डाक्नेश्वरी–७ मा ३ वर्षअघि भएको सामुहिक बलात्कारको विषय गाउँमै मिलाउन खोज्ने पञ्चहरुलाई कैद सजाय सुनाइएको छ । सामुहिक बलात्कारपछि गाउँको इज्जत ठुलो भन्दै घटना मिलाउन खोज्ने र पीडित परिवारलाई प्रहरीमा जाहेरी दिए बहिस्कार गर्ने चेतावनी दिने पञ्चमण्डललाई कैद सजाय फैसला भएको हो ।
सप्तरी जिल्ला न्यायाधिश हेमन्त रावलको एकल इजलासले पञ्चहरुको कैद सजायको फैसला गरेको हो ।पञ्चमण्डलमध्ये धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । शत्रुघन मण्डल र उजितलाल मण्डललाई एक वर्ष कैद र २५ हजार रुपैयाँ क्षतिपुर्ति वापतको रकम भराउने फैसला सुनाएको छ ।
सत्यनारायण, बासुुदेव, जयकान्त,झमेली, बेचन, देब, बिन्देश्वर र बंशराज मण्डलबाट जनही २० हजार जरिवाना तोकिएको छ । पञ्चहरुले प्रहरीमा उजुरी दिए सामाजिक बहिस्कार गर्ने चेनावनी दिएपछि पीडित संगिताले घटना भएको भोलिपल्टै २०७७ भदौ ३० गते आत्महत्या गरेकी थिइन् ।
२०७७ भदौ २९ गते आफ्नै बारीमा घास काट्न गएकी नाबालिग संगितालाई स्थानीय चार किशोरहरुले सामुहिक बलात्कार गरेको खुलासा भएको थियो ।