संयमित र कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका कार्यालय प्रमुखहरुलाई प्रहरी महानिरीक्षकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संयमित र कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका कार्यालय प्रमुखहरुलाई प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुबीच प्रदेशस्तरीय शान्ति सु–व्यवस्था सम्बन्धी अर्ध–वार्षिक समीक्षा बैठक सोमबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत् सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा समेत संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहने हुनाले सोही अनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गर्नुभयो । स्थानीय तहको साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूको योगदान सराहनीय रहेको उल्लेख गर्दै अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निश्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरीले औचित्य पूष्टी हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम–कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो ।

बैठकको आरम्भमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरणको क्रममा उहाँहरूले सुरक्षा चुनौती, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौती र पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायतका विषयमा समेत विस्तृत जानकारी गराउनुभएको थियो ।

बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);