डिआइजी र एसएसपीहरुलाई आइजीपी सिंहको यस्तो निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डिआइजी र एसएसपीहरुलाई आइजीपी सिंहको यस्तो निर्देशन

काठमाडौं,२ माघ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन दिनुभएको छ । ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो ।

आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उहाँले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो ।

नेपाल सरकारले अंगिकार गरेको समृद्धि सहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू बिकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । मानवअधिकारसम्बन्धी ज्ञानलगायत भिड नियन्त्रणमा प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);